वीरगंज | प्रदेश नम्बर- २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले धनुषामा एकजना कोरोना संक्रमितको मृत्युभएको खबरहबलाई बताए ।धनुषामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।प्रजिअ निरौलाका अनुसार मृत्यु भएका कोरोना संक्रमित धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३८ वर्षका पुरुष हुन् ।
उनी त्यहाँका स्थानीय व्यापारी हुन् । ती पुरुषमा पहिलादेखि नै दम र मुटुसम्बन्धि समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनको हिजो प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा राखेर उपचार गरिएको थियो ।स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
उनको प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमै मृत्युभएको प्रजिअ निरौलाले बताए ।प्रजिअ निरौलाका अनुसार ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको हो ।
“उहाँ स्वास्थ्य समस्या भएर हिजो आईसीयूमा भर्ना हुनुभएको थियो, स्वास्थ्य अवस्था जटिल भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उहाँको बाटोमै मृत्युभयो,” प्रजिअ निरौलाले खबरहबसँग भने, “अहिले बेलुका ७ बजे उहाँको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।”
प्रजिअ निरौलाका अनुसार ती पुरुषको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा नै राखिएको छ । उनको शव सोमबार नेपाली सेनाले अन्त्येष्टि गर्ने प्रजिअ निरौलाले जानकारी दिए ।यसअघी आजै वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो ।