वीरगञ्ज । वीरगञ्जमा कोरोना पोजेटिभको सङ्ख्या फेरि बढ्दैछ । एक साता अघि एकजना मात्र कोरोना पोजेटिभ नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा थिए तर अहिले निरन्तर सङ्क्रमित बढ्दै तीसजना पुगेको छ ।मङ्गलवार राति नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नौजना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएकामा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित तीनजना र अन्य ६ जना छन् । ६ जनाले नारायणी प्रयोगशालामा निजी खर्चमा पिसिआर परीक्षण गराएका हुन् भने तीनजना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । हिजो रातिको रिपोर्टमा दुईजना बाराका छन् भने सातजना पर्साका छन् ।
नौजना पुरुष पोजेटिभ देखिएको डा. उदयनारायण सिंहले बताए । हिजो पुष्टि भएका नौजनामध्ये दुईजना बारा, परसौनी –४ खुटवा जब्दीका ३० वर्षीय युवक र सिम्रौनगढ नगरपालिका – ८ कचोर्वा घर भई हाल वीरगञ्ज – ७ रामटोलमा डेरा लिई बस्दै आएका पुरुष छन् । यसैगरी बाराको परवानीपुर गाउँँपालिका – ५ मारुती फर्मास्युटिकल्समा कार्यरत २९ वर्षीय, २२ वर्षीय र ५५ वर्षीय मजदूर छन् । २२ वर्षीय युवकको घर बाराको परवानीपुर गाउँपालिका – ५ बहुअरी हो भने ५५ वर्षीय मजदूरको घर पर्साको निचुटा – ५ मा पर्छ ।वीरगञ्ज महानगरपालिका – १२ राधेमाईका ३१ वर्षीय युवक, वीरगञ्ज – २१ लिपनीबिर्ता (परवानीपुर)का ३५ वर्षीय युवकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
त्यसैगरी वीरगञ्ज – ४ बिर्तामा रहेको एडभान्स हस्पिटलमा उपचाररत वीरगञ्ज – ५ जेलरोडका ४७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएको छ । एडभान्स हस्पिटलको क्याबिनमा उनको उपचार भइरहेको थियो ।वीरगञ्ज – ३१ चोर्नी (जीतपुर केराढोका) मा सञ्चालनमा रहेको जगदम्बा इन्टरप्राइजेज प्रालि उद्योगका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
हिजो बेलुकी पुष्टि भएको नौजना सङ्क्रमितमा पनि कोरोनाको लक्षण देखिएको छ । डा. सिंहले कोरोनाको लक्षण देखिएपछि उनीहरूमध्ये ६ जनाले अस्पतालमा निजी खर्चमा पिसिआर परीक्षण गराएका थिए । हिजो राति फेला परेका ९ जनामध्ये तीनजना राति नै गण्डक कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भइसकेका छन् भने बाँकी ६ जनालाई आज भर्ना गरिंदैछ ।पछिल्लो चरणमा कोरोना सङ्क्रमितहरू समुदायमा देखिएको डा. सिंहले बताए । उनले यो सङ्केत राम्रो नभएको बताएका छन् । समुदायमा कोरोना देखिनुले परीक्षणपश्चात् सङ्क्रमितहरूको सङ्ख्या बढ्ने सङ्केत भएको बताए ।
प्रतीक दैनिकबाट साभार ।