वीरगंज | नेपालमा १ सय ४ वर्ष राणाको एकछत्र शासन चल्यो । राजा महेन्द्रको पञ्चायती व्यवस्थाले ३० वर्ष कटायो । राणाकालमा राणाको हैकम र पञ्चायत कालमा राजाको हुकुम खुबै चल्यो । अहिले देशमा गणतन्त्र छ, कांग्रेस र कम्युनिस्ट आलोपालो सत्तासीन भइरहेका छन् । तर, वास्तवमा अहिले नेपालमा भारत हाबी हुँदै गएको र अघोषित रूपमा भारतीय हुकुम चलिरहेको आभास हुन थालेको छ । चलनचल्तीका प्रधानमन्त्री स्वयंले ‘मलाई भारतले हटाउन खोज्दै छ’ भनेर भारतीय हैकम र हालीमुहालीको पर्दाफास गरेका छन् । झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्रीको यो आरोप साच्चै चिन्तायोग्य छ ।
नेपालमा भारतीय हस्तछेप ‘नानीदेखि लागेको बानी’ हो । नेहरूको पालादेखि नै सहयोगको नाममा भारतले नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको छ । नेहरूपछि इन्दिरा गान्धी, राजीव गान्धी, नरेन्द्र मोदीले क्रमशः २०२६ साल, सन् ९० को दशक तथा २०६२ मा नाकाबन्दीसमेत गरेर नेपाललाई हायलकायल पार्दै आएका हुन् । पञ्चायतकालमा नेपाली कांग्रेसलाई उचाल्ने र अहिले मधेसवादी दललाई उक्साउने पनि भारत नै हो । स्व। राजा वीरेन्द्रको ‘नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्तावलाई भाँड्ने पनि भारत नै हो । दक्षिण एसियाली मुलुकको सहयोगी संगठन ‘सार्क’लाई असफल र प्रायोजनहीन बनाउने पनि भारत नै हो ।
साना छिमेकी राष्ट्रलाई कज्याउनु भारतको विदेश नीति रहेको देखिन्छ । श्रीलंकाको तमिल समस्या, पाकिस्तानसँग काश्मीरको समस्या, माल्दिभ्ससँग सामुन्द्रिक सीमा समस्या, भुटानको बिजुली र पानी, बंगलादेशसँग भूमि समस्या र अहिले नेपालसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या भारतीय उपज हुन् । भारतले साना छिमेकी देशलाई कहिले शान्तिले बस्न दिएन, उथलपुथल गराइरहन्छ । पाकिस्तानलाई टुक्राएर बंगलादेश जन्माउने भारतलाई स्वयं बंगलादेशले नै अविश्वास गर्दछ ।
भारतले हामीलाई हेप्दै जानुमा हाम्रै कमजोरी प्रमुख कारण रहेकोमा दुईमत छैन
अहिले भारतको तारो नेपाल बनेको छ । वर्तमान नेपाल सरकारले आफ्नो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि ‘आगबबुला’ भएको छ, भारत । ‘जति काला मेरै बाउका साला’ ठान्ने भारत ‘राम राम जपना, पराया माल अपना’ बनाउन पनि खप्पिस छ । सामरिक महŒवको नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा हत्याउन भारत जिउज्यानले लागेको छ । त्यस्तै, पूर्वी नेपालका कतिपय भूभाग र तराईका थुप्रै ठाउँमा जंगे पिलर मासेर र सारेर नेपाली भूभाग कब्जा गरिरहेको छ । केही समयअघि चीनसँग पूर्वी लद्दाखमा सैनिक भिडन्त नै प¥यो, थुप्रै भारतीय सेना हताहत भए । चीनसँग कुनै सीप नलाग्ने देखेपछि भारत पुनः नेपालप्रति आक्रामक देखिएको छ । भारतीय नेतामात्र होइन, अचेल त भारतीय सञ्चारमाध्यमसमेत नेपालबारे अन्टसन्ट कुरा फलाकिरहेका छन् ।
अहिले भारतका नेता, सुरक्षा प्रमुखदेखि कारिन्दासम्म राजधानी काठमाडौंमा डेरा जमाएर बसेका छन् । यिनको थुप्रै उद्देश्यमध्ये प्रमुख उद्देश्य ‘ओली उन्मूलन’ नै हो । भारतका यी दूतहरू भारतीय दूतावासको सहयोगमा ओलीइतर दल र नेतासँग खुसुरफुसुर गर्न देखिन्छन् र हाम्रो लाचार सरकार यी सबै चर्तिकला टुलुटुलु हेरेर बस्न विवश छ । नेपाली राजनीतिमा विभीषणको कमी छैन । यस्ता विभीषण ‘झर्ला र खाउँला’ भन्दै भारतीयलाई मनपेट दिँदै छन् । यिनलाई घरका भेदी भनिन्छ ।
अहिले गणतन्त्र कालमा समेत विदेशीले सजिलै नेपाली नागरिकता प्राप्त गर्ने प्रावधान बनाएको, टोली बनाएर २०६३ मा थुप्रै विदेशीलाई नागरिकता वितरण गरिएको, अंगीकृत नागरिक महŒवपूर्ण सरकारी ओहदामा पुग्न सक्ने कानुन बनाएको इत्यादि अन्धा कानुनले आज भारतले हाम्रो टाउकोमा परेड खेल्दै छ ।
उता भारतको सीमा सुरक्षा गर्दै थुप्रै गोर्खा राइफल्सका जागिरे काश्मीरको सिमानामा शहीद भइरहेका छन् । भनिन्छ, भारतीय सेनाबाट गोर्खा राइफल्स हटाइदियो भने मात्र पनि भारतीय सेनाको मनोबल आधाभन्दा बढी घट्नेछ । भारतीयको सीमा सुरक्षा नेपालबाट गएका गोर्खाली सेनाले गर्ने अनि हाम्रो सीमा भारतले मिच्ने यो कस्तो अधेर नगरी हो । यस्तो नीतिलाई चाणक्यको भाषामा ‘दोगला नीति’ भनिन्छ ।
२०४६(४७ को आन्दोलनपछि नारायणहिटी कमजोर र सिंहदरबार शक्तिशाली भएको सबैलाई थाहै छ । नारायणहिटीको शक्ति सिंहदरबारमा गएपछि मुलुकको राष्ट्रियता कमजोर भएको, भ्रष्टाचार बढेको, नातावाद कृपावाद फस्टाएको, राजनीतिमा अपराधीकरण बढेको र भारतको चुरीफुरी बढेको स्पष्ट देखिन्छ ।
कुनै बखत जुनसुकै मुलुकका ‘मै हँु’ भन्ने शक्तिशालीसमेत नारायणहिटी पुगेर मौसुफ सरकारसँग दर्शन भेट गर्थे । अचेल त जाबो राजदूत ९कारिन्दा० ठाडै प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्न खोज्छन् । भारतीय राजदूतले त मन्त्री, प्रधानमन्त्रीसम्मलाई बोलावट गर्छ । अर्ती, बुद्धि र निर्देशन दिन्छ । हाम्रो राजनीतिक संस्कार र स्तर त यतिसम्म गिरिसक्यो कि अचेल बाहिरी देशबाट ‘विशेष दूत’ भनाउँदा भेट्न हाम्रा अति विशिष्ट तछाडमछाड गरिरहेको देखिन्छ । कुर्सीका खातिर ¥याल बगाउने यस्ता प्रवृत्तिबाट अवगत भारतले यसको भरपूर फाइदा उठाइरहेको छ । पैसा देखेपछि महादेवको त्रिनेत्र भन्ने पनि भारतलाई थाहा छ ।
अहिले भारतमा भाजापाको सरकार छ । अनेक तिकडम र दाउपेच रचेर मोदी सत्तासीन भएका छन् । राहुल र सोनियाको कांग्रेसलाई धोबिया पटकन दिएपछि कमजोर प्रतिपक्षको फाइदा उठाउँदै भारतभित्रै अघोषित हिन्दूकरण गरिरहेका छन् । भारतकै कारण दक्षिण एसिया अशान्त हुन सक्ने र सैनिक भिडन्तको अवस्था आउन सक्ने लक्षण देखिन थालेको छ ।
कहिले पाकिस्तान त कहिले चीनसँग सैन्य भाषामा कुरा गर्नु राम्रो होइन । चीनसँगको भिडन्तमा आफ्नो सैनिक मारिएपछि भारतले संसारभरका बलिया राष्ट्रसँग हातहतियार खरिद गर्दै हिँडेको छ । चीन र भारतको जेजस्तो सम्बन्ध भए पनि भारत हाम्रो नजिकको छिमेकी हो । भारतीय नेता नै रोटीबेटी भन्छन् र ‘मुख मे राम राम, बगलीमे छुरा’ गर्छन् ।
नेपाल अखण्ड र सार्वभौम राष्ट्र हो भन्ने कुरा भारतीय शासकले बुझ्नु जरुरी छ । परिआएको खण्डमा कमिलाले हात्तीसँग लडेको इतिहास छ । हामी २१औं शताब्दीका स्वतन्त्र राष्ट्रका चेतनशील नागरिक हौं । भारतले हामीलाई हेप्दै जानुमा हाम्रै कमजोरी प्रमुख कारण हो भन्ने कुरामा कुनै दुईमत छैन । साना देशलाई गिद्धे नजरले हेर्ने भारतको अन्तरिक राजनीति सधैं कलहपूर्ण देखिन्छ । भारतमा संसारमै सबैभन्दा बढी साम्प्रदायिक दंगा हुन्छ । छुवाछूत उचनीचको भेदभाव त्यहाँ बढ्दो छ । लुटपाट र गुन्डागर्दी, हत्याकाण्ड पनि त्यहाँ अन्य मुलुकको तुलनामा अत्यधिक हुन्छ । आर्थिक रूपमा कमजोर भारतमा धार्मिक उन्मादका घटना भइरहन्छन् ।
धनी र गरिबबीचको ठूलो खाडल छ, भारतमा । भारत आफ्नो जिउको भैंसी देख्दैन, अर्काको जुम्रा देख्छ । अझै पनि भारतमा मुसलमानलाई दोस्रो दर्जाको नागरिक मानिन्छ । अन्तरिक रूपमा धेरै कमजोर भारत नजाने किन शक्तिशाली चीनसँग समेत अचेल जोरी खोज्न थालेको छ । अमेरिकी इसारामा भारत चलमलाउने कोसिस गर्दै छ । हामी भारतबाट आक्रान्त छौं, त्योभन्दा बढी चिन्ता नेपालमा भारतभक्त नेताको संख्या बढ्नु हो । नेपालका नेताले अब आवश्यकताभन्दा बढी भारतभक्ति देखाउनु आफ्नो खुट्टामा आफंै बन्चरो हान्नु हो ।