लण्डन : स्कटल्याण्डमा एक अस्वेत नागरिकमाथि ज्यादती गरेको भन्दै एक महानागरीय सुरक्षाकर्मी अफिसरलाई बर्खास्त गरिएको छ ।एक अस्वेत नागरिकलाई दुई गोरा महानागरीय प्रहरी अधिकृतले पक्राउ गरी घाँटी र टाउकोमा थिचेर यातना दिएको भिडिओ भाइरल बनेपछि अमेरिकाको फ्लोइड हत्याकाण्डकै जस्तो मुद्दा उठेको छ ।
भिडिओमा ती अस्वेत युवकलाई भुइामा ढलाएर घाँटी र टाउकोमा दुईजना गोराले थिचिरहेका छन् । यस घटनापछि एक महानगरीय प्रहरी अधिकृत बर्खास्त भएका छन् । अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान बेलायतमा समेत प्रभावकारी भइरहँदा स्टकल्याण्डमा यस्तो घटना भएको हो । जुन भिडिओ भाइरल बनेपछि नयाँ मुद्दा उठ्न थालेको छ ।
अघिल्लो महिना अमेरिकाको मिनेपोलिसस्थित एक अफ्रिकी अमेरिकन नागरिकलाई प्रहरी अधिकृतले भुइामा ढलाएर यातना दिइरहँदा उनको मृत्यु भएको थियो । सोही घटनापछि अमेरिका र विश्वका धेरै देशमा ब्ल्याक लाइभ्स म्याटर अभियान सुरु भयो । ४६ वर्षीय जर्ज फ्लोइडको हत्याले अमेरिका र बाहिर पनि रंगवादविरोधी आन्दोलन नै उठेको छ ।
उक्त आन्दोलन सेलाउन नपाउँदै स्कटल्याण्डमा त्यस्तै प्रकृतिको घटना भएको हो । यद्यपि यस घटनाबारे विस्तृत विवरण आइसकेको छैन । तर घटनामा संलग्न प्रहरी अधिकृतलाई बर्खास्त गरी अदालत उपस्थित गराउने बताइएको छ ।
लण्डनका मेयर सदिक खानले पनि यस घटनामा चासो देखाएका छन् । उनले यस घटना महानगरीय प्रहरीको उच्चस्तरीय तहमा उठाइसकेको प्रतिक्रिया दिए । ती काला नागरिकलाई यातना दिएको भिडिओ बीबीसीमा समेत सार्वजनिक भएको थियो ।