सर्लाही। हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ । बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिनुभएको थियो ।सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा शुक्रबार भएको थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई शुक्रबार अबेर गौर कारागार, रौतहट चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थानीय नेता रामजलको गत असार ७ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उहाँको हत्यालगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो । वडाध्यक्ष महतो नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।बुवाको हत्यापछि रामजलका छोराले वडाध्यक्ष महतो लगायत नौ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुभएको छ । जाहेरी परेका अन्य आठ जना भने फरार छन् । प्रायः राजनीतिक किचलो परिरहने निर्वाचन क्षेत्र नं। ४ स्थित रामनगरको घटनापछि सर्लाहीमा नेकपा र काँग्रेसबीच तिक्तता बढ्दैगएको छ ।
काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी सत्ताको आडमा प्रहरी प्रशासनलाई दबाबमा पारी आफ्नो पार्टीका निर्दोष वडाध्यक्षलाई फसाइएको दाबी गरेको थियो । यसैगरी नेकपाले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी सडक बनाउने विषयमा वडाध्यक्ष महतोसँग विवाद भएपछि आफ्ना कार्यकर्ता रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेको बताएको छ ।
रामजलको हत्यापछि दुवै पार्टी र उसका भातृ संस्थाहरूले एक–अर्काविरुद्ध पटक–पटक विरोध जुलुस निकालेका छन् । त्यसक्रममा दुई पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।