धनगढी। कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार बिहान भएको वर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार काँढा नदीमा आएको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
‘गाउँमा बाढी पसे पनि ठूलो क्षति भने भएको छैन’, उहाँले भन्नुभयो, ‘मान्छेहरू पानी पसेको घरमै बसेका छन् ।’ धेरै ठूलो बाढी नरहेका कारण प्रभावितलाई अन्यत्र सार्नुपर्ने अवस्था नरहेको विष्टले बताउनुभयो ।दुई हप्ताअघि मात्रै सो ठाउँ डुबान परेको थियो । माथि चुरे क्षेत्रमा वर्षा भएपछि पुनः डुबान समस्या निम्तिएको मोहनपुर गाउँका स्थानीय गङ्गाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार काँढा नदीमा आएको बाढी ‘ओभरफ्लो’ भएर गाउँमा डुबान भएको हो ।यसैगरी, लम्कीचुहा नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘तर, त्यहाँको विस्तृत विवरण आएको छैन’, प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो ।
भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपद्को जोखिममा छ । यी स्थानीय तहमा प्रायः हरेक वर्ष डुबान हुने गरेको छ ।अति विपद् जोखिम स्थानीय तहको रुपमा रहेको भजनी नगरपालिकामा बाढी समस्याका कारण किसानले बर्खे धानको खेती गर्दैनन् । जीविकोपार्जनका लागि उनीहरु चैते धान खेतीमामात्रै निर्भर छन् । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।