सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधवार राति पहिरोले दुई घर पुरिएका छन्। घरभित्रै रहेका केही व्यक्ति बेपत्ता भए पनि संख्या एकिन हुन सकेको छैन।स्थानीयबासीले पाँच जना बेपत्ता भएको हुनसक्ने बताएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी दिइन्।
प्रहरी घटनास्थलमा पुगेको छैन।गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले प्रहरीहरु घटनास्थल जाँदै गरेको बताए। उनका अनुसार पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।
राति एक्कासी भोटेकोशीमा बाढी
सिन्धुपाल्चोकको बाह्रबिसे भएर बग्ने भोटेकोशी नदीमा बुधबार राति एक्कासी बाढी आएको छ। बाह्रबिसे आसपास क्षेत्रमा राति २ बजे एक घन्टामै जलसतह १.५ मिटर बढेको छ।अहिले भोटेकोशीको जलसतह ३.२१ मिटर पुगेको छ।
नदीको सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले बाह्रबिसे आसपासदेखि सुनसरी र सप्तरीसम्मका तटीय क्षेत्रका स्थानीयलाई सजग रहन आग्रह गरेको छ। भोटेकाशी सप्तकोशीकै सहायक नदी हो।