वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार २०७ औं भानुजयन्तीको अवसरमा राम र आयोध्याका विषयमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा चोट पुर्याउने मनसाय नभएको स्पष्ट पारेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीले २०७ औं भानुजयन्तीका अवसरमा दिएको अभिव्यक्तिलाई विभिन्न रुपमा व्याख्या गरिएकप्रति सरकारको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित छैन र उक्त अभिव्यक्तिको मनसाय कसैको भावनामा चोट पुर्याउने हाेइन ।”
श्रीराम र उनको जन्मस्थानसँग सम्बन्धित विभिन्न मिथकहरु रहेको छन् । प्रधानमन्त्री ओलीले सामान्यतया: प्रधानमन्त्री ओलीले यससम्बन्धी अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याउनुभएको थियो । “उक्त अभिव्यक्तिको अर्थ अयोध्या र यसको सांस्कृतिक मूल्यलाई अपमान गर्नु होइन,” विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार भारतका राजकुमार रामलाई नभई अयोध्याका रामलाई सीता दिएको र अयोध्या वीरगञ्जभन्दा अलि परको गाउँमा रहेको बताएका थिए ।“हामी अहिले पनि ठानिरहेका छौं । हामीले भारतका राजकुमार रामलाई सीता दियौं । भारतका होइन, अयोध्याका रामलाई सीता दिएका हौं । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,” उनले भनेका थिए ।
ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका थिए ।“यहाँको जनकपुर उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल ! कताबाट थाहा होस् ! थाहा हुन पनि सम्भव थिएन,” उनले भनेका थिए ।