वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले सीता भारतका होइन नेपालकै रामलाई दिएको भनेर दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ । नेपालमा सामाजिक सञ्जालमा त भारतीय सञ्चारमाध्यममा ओलीको अभिव्यक्तिको चर्को आलोचना भएको छ ।
भारतीय टेलिभिजन च्यानले सामान्य जानकारीसमेत नभएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । नेपालकै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्– अति गरे खति हुन्छ भन्छन्! प्रधानमन्त्री केपी शर्मा ओलीका वचन–कर्मले सीमा नाघ्दैछन् । संसद्मा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगत गरेर अध्यादेश–संकटकालको खड्गसमेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरानाक हुनेछ ।”
त्यसअघि भट्टराईले लेखेका थिए, “त्यसअघि उनले आधी–कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं । सिधै बैकुण्ठधामको यात्रा गरौं !”
सामाजिक सञ्जाल ट्विटरमा जुगल भुर्तेल लेख्छन्– यो रामको लफडा चैँ सबैभन्दा महंगो लफडा हो । आजको भारतमा ‘जय श्री राम’ सबथोक हुन् । तिनले बरु लिम्पियाधुरा देलान् तर राम कदापि दिँदैनन् । थाइल्यान्डमा समेत अयोध्या छ । राम सर्वव्यापी जगदीश्वर थिए, एकचोटी सबैतिर जन्मिए होलान् भनेर चित्त बुझाऔं । अब के गर्नु !”
के भनेका थिए ओलीले ?
प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा बालुवाटारमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको टिप्पणी थियो ।
उनले भने, “हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’’’
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए ।
त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको टिप्पणी थियो ।
उनले भनेका थिए, ‘‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्यो सजिलैसँग गए होलान तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमला माथि अर्को…।’’