बीरगन्ज। बीरगन्ज महानगरपालिकाले मातहातका सात विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सरुवा गरेको छ । बीरगन्ज महानगरपालिकाको शिक्षा समितिका निर्णयानुसार पाँच विद्यालयका प्रधानाध्यापकहरु र अन्य दुई विद्यालयका शिक्षकहरुको सरुवा भएको छ ।
निर्णयानुसार नगवा माविका प्रधानाध्यापक घनश्याम मिश्राको सरुवा त्रिभुवन माविमा भएको छ भने नृसिंह माविमा प्रअ अनिल वर्णवालको सरुवा श्री नेपाल राष्ट्रिय मावि श्रीपुरमा भएको छ । त्यसैगरी, श्री नेपाल राष्ट्रिय मावि श्रीपुरका प्रअ गोपाल महतोको सरुवा नगवा माविमा भएको छ ।
यस्तै, नगवा माविका सहायक प्रधानाध्यापक राजकुमार सिंहको सुखचैना माविको सहायक प्रधानाध्यापकको रुपमा सरुवा गरिएको छ भने सुखचैना माविमा कार्यरत प्रअ विनोद मेहताको सरुवा श्री नृसिंह माविमा भएको छ । यसैगरी माईस्थान विद्यापिठ माविका शिक्षक लालबाबु चौरसियालाई आधारभुत विद्यालय छपकैया शितलपुरमा सरुवा गरिएको छ भने सुखचैना माविका शिक्षक अनिरुद्ध कुशवाहाको सरुवा चोर्नी निमाविमा भएको छ ।
केही विद्यालय व्यवस्थापन समिति र प्रअ बीच भएको असमझदारीले गर्दा व्यवस्थापन समितिको आग्रहमा प्रअहरुको सरुवा गरिएको बीरगन्ज महानगर शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । यस्तै, महानगरका अन्र्तगत तीन विद्यालय आधारभूत तहमा स्तरोन्ति भएपनि निमावि दरबन्दी नरहेकाले ती विद्यालयमा तीन निमावि दरबन्दी थपिएको उनले बताए ।
यसअघि पनि करिब एक वर्ष अघि पनि बीरगन्ज महानगरले एक दर्जन विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको थियो ।