काठमाडौं । चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमोर्चाले मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको भन्दै भारतीय मिडियाले नरेन्द्र मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको बताएको छ ।
जनमोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भ्रामक, अतिरञ्जित, अनर्गल र आपत्तिजनक सामग्री प्रशारण गरेकोपनि कडा विरोध पनि गरेको छ ।
‘केपी शर्मा ओली र चिनियाँ राजदूतको बीचमा नक्कली कुराकानी भएको देखाइएको छ । नक्कली कुराकानीको रचना र प्रशारण गरिनु पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग हो’, जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ र भारतीय मिडियाले मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेका छन् ।
विज्ञप्तिमा भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीहरुको अस्मितामाथि प्रहार गरेको ठहरसहित सार्वभौमसत्तासम्पन्न मुलुक र जनताको लागि यो असह्य भएको उल्लेख छ । नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको पनि जनमोर्चाले जनाएको छ ।
‘भारतीय टेलिभिजन च्यानलहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको विषयमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध भारतव्यापी रुपमा ठूलो अभियान चलाएका छन् । चीनलाई समेत मुछेर लगातार गलत सामग्री दिएका छन् ।
नेपालको संसदले जारी गरेको नक्साका विषयमा छिमेकी मुलुक चीनलाई समेत मुछ्नु गम्भीर आपत्तिको विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘भारतीय मिडियाको चरित्रहत्या, पितपत्रकारिता र नेपालविरुद्धको षड्यन्त्रका विरुद्ध एकजुट हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा देशभक्त नेपालीहरुमा अनुरोध गर्दछौं ।
जनमोर्चाले भारतीय मिडियाको हर्कतका विरुद्ध देशव्यापी रुपमा नागरिक तहबाट प्रतिकार हुन जरुरी रहेकोमा पनि जोड दिएको छ ।यस्तै जनमोर्चाले बाढीपहिरोको कारण देशमा ठूलो जनधनको क्षति भएको भन्दै पीडितहरुलाई तत्काल उद्धार गरेर सुरक्षित गर्न र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।