कोरियाली युद्ध सुरु भएको दुई दिनपछि २७ जुन १९५० मा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले दक्षिणतर्फको प्रजातान्त्रिक सरकारलाई उत्तरतर्फको कम्युनिष्ट सरकारको आक्रमणविरुद्ध सघाउन वायु तथा जलसेना तैनाथ गर्ने घोषणा गरे । त्यस्तै, उनले ताइवानको सुरक्षा र भियतनाममा लडिरहेको फ्रान्सेली सेनालाई सहयोग गर्न पनि अमेरिकी सेना परिचालन गरे । दोस्रो विश्वयुद्ध समाप्त हुँदै गर्दा १९४५ को याल्टा सम्मेलनमा अमेरिका, सोभियत युनियन र बेलायतबीच कोरियाली प्रायद्वीपलाई दुई अलग भागमा विभाजन गर्ने सहमति बनेको थियो । विभाजन रेखाको उत्तरतर्फ सोभियत सेना र दक्षिणतर्फ अमेरिकी सेना तैनाथ भए । १९४७ मा अमेरिका र बेलायतले पुरै कोरियामा निर्वाचन गर्न माग गरेका थिए, तर यसलाई सोभियत युनियनले स्विकारेन ।
मेइ १९४८ मा उत्तरतर्फ कम्युनिष्ट राष्ट्र जनगणतन्त्र कोरिया अर्थात् उत्तर कोरिया र अगस्टमा दक्षिणतर्फ गणतन्त्र कोरिया अर्थात् दक्षिण कोरिया बने । १९४९ सम्म अमेरिका र सोभियत युनियन दुबैले कोरियाली प्रायद्वीपबाट आफ्ना धेरैजसो सेना हटाइसकेका थिए । उत्तरतर्फ किम इल सुङको नेतृत्वमा कम्युनिष्ट सरकार र दक्षिणतर्फ सिङमेन रिईको नेतृत्वमा कम्युनिष्ट विरोधी पुँजिवादी सरकार कायम थिए । तर, दुबै नेताले सम्पूर्ण कोरियाको नेतृत्व आफ्नो हातमा रहेको दाबी गर्थे ।
२५ जुन १९५० को बिहान ९० हजार उत्तर कोरियाली सेना विभाजन रेखा पार गर्दै अघि बढ्योे । त्यसपछि दक्षिण कोरियाले प्रतिरोध ग¥यो । यही दिन दिउँसो बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकबाट उत्तर कोरियाली सेनालाई सीमा क्षेत्रमा फर्काउने र घृणा अन्त्य गर्ने अमेरिकी प्रस्ताव स्विकृत भयो । जनगणतन्त्र चीनलाई आधिकारीकता दिने विषयलाई संयुक्त राष्ट्रसंघले अस्विकार गरेकाले यतिबेला सोभियत युनियनले सुरक्षा परिषद् बैठक बहिष्कार गरिरहेको थियो । त्यसैले उसले यी र यस्ता अन्य संकल्प प्रस्तावमा आफ्नो भिटो प्रयोग गर्ने मौका गुमायो ।
कम्युनिष्टलाई एक स्वतन्त्र राष्ट्र कब्जा गर्नबाट रोक्नका लागि कोरियाली युद्धमा अमेरिकाले हस्तक्षेप गर्ने घोषणा २७ जुनमा राष्ट्रपति ट्रयुम्यानले गरे । उनले उत्तर कोरिया आक्रामक हुनुमा सोभियत युनियनको हात रहेको संकेत गरेका थिए र सोभियतले उत्तरलाई ट्यांक र हतियारले सहयोग पनि गरेको थियो । कोरियामा हस्तक्षेप गर्दा सोभियत युनियनसँग सिधा युद्ध हुने खतरा देखिएपनि ट्रयुम्यानको निर्णयलाई अमेरिकी कंग्रेस र सर्वसाधारणबाट राम्रो साथ मिल्यो ।
२८ जुनमा सोभियत युनियनबाहेक सुरक्षा काउन्सिलका बाँकी सदस्यको बैठक फेरि बस्यो र यसले उत्तर कोरियाविरुद्ध सेना प्रयोग गर्ने प्रस्तावमा स्विकृति जनायो । ३० जुनमा ट्रयुम्यानले कोरियामा अमेरिकी स्थल सेना पठाउने सहमति गरे र ७ जुलाईमा सुरक्षा परिषद्ले संयुक्त राष्ट्रसंघ अन्तर्गत कोरियामा गएका सबै सेनालाई अमेरिकाको कमाण्डमा राख्न सुुझाव दियो । अर्को दिन जनरल डोउग्ला म्याकअर्थर यस युद्धका लागि संयुक्त राष्ट्रसंघको कमाण्डर बने ।
सुरुवाती महिना अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघ सेना उत्तर कोरियामाथि हाबी भयो । तर, चिनियाँ कम्युनिष्ट सेना अक्टुबरबाट उत्तर कोरियाको साथमा आयो, त्यसपछि दक्षिणतर्फ उत्तर कोरियाली फौजले आफ्नो भूभाग विस्तार थाल्यो । यस युद्धका क्रममा चारपटकसम्म उत्तर कोरियाले सिओल कब्जा ग¥यो ।
यता, अमेरिकाले पनि उत्तर कोरियाका धेरै शहरमा बम खसालिरह्यो भने गोप्य रुपमा उत्तरको सहयोगमा सोभियत युनियनले वायुसेना पठाइरह्यो । उत्तर र दक्षिण दुबैतर्फका धेरै शहर युद्धका क्रममा ध्वस्त भए । इतिहासमा जेट फाइटर प्लेनहरु एकअर्काविरुद्ध आमने–सामने भएको यो पहिलो युद्ध हो । अप्रिल १९५१ मा म्याकअर्थरले चीनमा बम हान्ने सार्वजनिक धम्की दिएपछि उनलाई ट्रयुम्यानले नै कमाण्डबाट हटाए । चीनसँग युद्ध सुरु हुँदा सोभियत युनियन पनि प्रत्यक्ष रुपमा कोरियाली युद्धमा तानिने डर ट्रयुम्यानलाई थियो ।
मेइ १९५१ मा उत्तर कोरियाली सेनालाई सीमा क्षेत्रमा फर्काउन संयुक्त राष्ट्रसंघको सेना सफल भयो । यसको दुई वर्षपछि १९५३ जुलाई २७ मा भएको आर्मिस्टिक सन्धीले जसअनुसार विभाजन रेखामा सैनिकरहित इलाका खडा ग¥यो । यससँगै युद्ध समाप्त भयो । युद्धमा दुबैतर्फका गरेर कुल २० देखि ३० लाख सेना तथा सर्वसाधारण मारिए, मारिनेमध्ये अधिकांश सर्वसाधारण थिए । आर्मिस्टिक सन्धीले १९४५ मा कोरिएको सीमालाई नै पुनस्र्थापित गरिदिएको छ । तर, दुई देशबीच अझै पनि औपचारिक शान्ति सम्झौता हुन बाँकी नै छ ।
अन्य घटनाक्रम
१६९३ – महिलाहरुको पहिलो पत्रिका ‘लेडिज मर्करी’ लण्डनमा प्रकाशित ।
१८३९– शिख साम्राज्यका संस्थापक महाराज रणजीत सिंहको निधन ।
१९९१ – स्लोभेनिया स्वतन्त्र भएको ४८ घण्टाभित्रै युगोस्लाभियाको सेनाद्धारा ट्यांक र विमानसहित आक्रमण । युगोस्लाव सेनाले इटली, अस्ट्रिया र हंगेरीसँग जोडिएको सीमा क्षेत्रका चेक–पोस्ट कब्जा ग¥यो र राजधानी लुबलियानाको हवाई अड्डामा हमला ग¥यो ।