कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका ११ का क्वारेन्टाइनबाट घर फर्किएका ६ जनामा कोरोना पोजिटिभ देखिएको छ। पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएपछि ती पाँच पुरुष र एक महिलामा संक्रमण देखापरेको हो। आरडिटी पोजेटिभ देखिएका १० जनाको पिसिआर गरिएको र तीमध्ये ६ जनामा कोरोना पुष्टि भएको वडाध्यक्ष दिल बहादुर बुढाले बताए। ती सबै जनलाई दशरथ आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्न खोजिएको र एक जनाले क्वारेन्टाइनभित्रै आत्महत्या प्रयास गरेका थिए। र एक जना भागेपछि सुरक्षाकर्मीको सहयोगमा सामुदायिक वन क्षेत्रबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थियो।
‘महिना दिनसम्म क्वारेन्टाइनमा बसेपछि भागेर घर जान्छौं भन्न थाले, घरमै सुरक्षित तरिकाले क्वारेन्टाइनमा बस्ने गरी पठाएका हौं,’ वडाध्यक्षले बताए। कोरोना पोजेटिभ देखिएकालाई नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राख्नुपर्ने दबाब स्थानीयले दिएका छन्। पोजेटिभ आएकाहरु घरमै बसेकाले स्थानीयसमेत त्रसित भएका छन्। समुदायमा संक्रमण हुन सक्ने आशंका गरिएको छ। घरमै सुरक्षित तरिकाले बसून् भनी पठाइएकाहरु जथाभावी हिँडेकाले संक्रमण खतरा बढेको स्थानीयले बताएका छन्। कोरोना पोजेटिभ देखिएकाहरु भारतको दिल्ली र मद्रासबाट घर फर्किएकाहरु हुन्।
उनीहरुलाई सीमा नाकाबाटै नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा ल्याइएको थियो। तर उनीहरुलाई कोरोना पोजिटिभ देखिएपछि पनि तत्काल आइसोलेसनमा पठाइएको छैन। नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएकालाई राख्नका लागि आइसोलेसन तयार गरिएको बताएका छन्। ‘कारोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी गर्दैछौं,’ उनले भने। तत्कालका लागि सबैलाई घरमै सुरक्षित तरिकाले बस्न भनिएको उनले बताए। गत जेठ २५ गते १० जनाको आरडिटी गरिएको थियो। त्यसपछि उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको थियो। यसअघि लालझाडी गाउँपालिकाका क्वारेन्टाइनबाट घर पठाइएका ११ जनामा पनि कोरोना संक्रमण देखिएको थियो।संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था भने सामान्य छ।