पाल्पा । पाल्पामा एकैदिन १२४ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार बिहान यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएका हुन्। यससँगै जिल्लामा संक्रमितको संख्या ३७२ पुगेको छ। ११८ जना पुरूष रहेका छन् भने ६ जना महिला रहेका छन्।
जिल्लाको निस्दी गाउँपालिकामा मात्रै ९३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। चितवनस्थित भरतपुर अस्पतालले आज विहान यसको पुष्टि गरेको हो।
यस्तै, तानसेन नगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ भेटिएको छ। तानसेनको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका रहेका उनले बताए। जिल्लाका स्थानीय तहमध्य तानसेन नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्।
यता, रम्भा गाउँपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना कोरोना संक्रमित थपिएका छन्। भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो।
यस्तै, पूर्वखोला गाउँपालिका १ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदनआश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जनामा कोरोना संक्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए। उनीहरू २० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। सबै पुरूष हुन्। भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो।