वीरगंज | अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।
आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।
योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।
विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।