वीरगंज । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन आगामी २२ र २३ असार (६ र ७ जुलाई) मा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने यो सम्मेलन यसपटक ‘भर्चुअल’ विधिबाट हुने भएको हो ।परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारी हरेक बर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आएको थियो । यसपटक कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै देशमा जारी लकडाउनका कारण गत २८ देखि ३० चैत (१० देखि १२ अप्रिल)का लागि तय भएको यो सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।
परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले कोरोनाको महामारी र जारी लकडाउनका कारण पूर्व निर्धारित समयमा सम्मेलन गर्न नसकिएको स्पष्ट पार्दै अब भने विधि परिवर्तन गरी सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले दुई दिनसम्म चल्ने सम्मेलन यसपटक पुरै ‘भर्चुअल’ विधिबाट चल्ने बताए ।सम्मेलनमा यसपटक पनि नयाँ अनुसन्धान, बैज्ञानिक कार्यपत्रका प्रस्तुतिहरु हुनेछन् । अवार्ड पनि गरिनेछ । तर यी सबै ‘भर्चुअल’ माध्यमबाट हुनेछन् ।कोरोना र लकडाउनका कारण अघिल्ला बर्षहरुमा जस्तो भौतिक रुपमा एक ठाँउमा भेला भएर सम्मेलन गर्न सकिदैन् तर अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगद्धारा हुनेछ उनले भने । परिषद्ले यस पटक शिखर सम्मेलनको नारा ‘एड्रेसिङ इमरजिंङ पब्लिक हेल्थ इस्युज थ्रुद इन्टरडिसिप्लिनरी रिसर्च’ तय गरेको छ ।