भारत | भारतमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर तीब्र गतिमा बढ्न थालेको छ।गएको २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ।गएको २४ घण्टामा भारतमा दुई हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ। यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। पछिल्लो समय संक्रमणदर उच्च रहेका ब्राजिल, अमेरिका, बेलायत लगायतका देशको भन्दा धेरै मृत्यु मंगलबार भारतमा भएको छ।
गएको २४ घण्टामा ब्राजिलमा एक हजार तीन सय ३८ जना, अमेरिकामा आठ सय ४६, मेक्सिकोमा चार सय ३९, बेलायतमा दुई सय ३३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।योसँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय २१ पुगेको छ। मंगलबार भारतमा ११ हजार एक सय ३५ जनामा संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ५४ हजार एक सय ६१ पुगेको छ।