एजेन्सी । बलिउड अभिनेता एवं देवर सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको पनि निधन भएको छ। सुशान्तको ३४ वर्षको उमेरमा आइतवार निधन भएको थियो।
सोमवार निधनको खबर पाएकी बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा बस्दै आएकी भाउजु सुधा देवी विक्षिप्त बनिन्। उनी डिप्रेशनमा गइन्। खाना खान छोडिन्। सोमवार अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब गाउँमा भाउजुले पनि प्राण त्यागिन्।
उनले देवरको आत्महत्याको खबरलाई सहन सकिनन्। सुशान्तको पैतृक गाउँ पूर्णिया जिल्लाको मलहीहामा पर्छ। भाउजु काकाको छोरा (दाई)की श्रीमती हुन्। उनको मृत्यु सुशान्तको दाहसंस्कार हुने क्रममा भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। छोराको मृत्युको शोकमा रहेको परिवार बुहारीको पनि मृत्यु भएपछि थप शोकमा परेको छ।
सुशान्तको सोमबार साँझ विले पार्लेको शवदाह गृहमा दाहसंस्कार गरिएको छ। अन्तिम संस्कारमा श्रद्धा कपूर, कृति सेनन, अरुण शौरी, विवेक ओबेरायलगायत कैयौ कलाकार पुगेका थिए।
पोस्टमार्टम रिपोर्टले सुशान्तले आत्महत्या गरेको पुष्टि गरिसकेको छ।