जाजरकोट |छेडागाड नगरपालिकामा एक कर्मचारी र वडाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाँउमा त्रास बढेको छ । ग्लोबल आईएई बैक छेडागाडमा कार्यरत एक कर्मचारी र छेडागाडका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि गाँउमा त्रास बढेको छ ।उनीहरुलाई कोरोना संक्रमण भए पनि उपचारको व्यवस्था भने गरिएको छैन । बैंकका कर्मचारीमा कोरोना संक्रमण भए पनि उनी बैककै क्वाटरमा र वडाध्यक्ष घरमै बसिरहेका छन् । नगरपालिकामा आइसोलेशन नहुँदा उनीहरुलाई सिटामोलको भरमा राखिएको छ । बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि त्यहाँ आउने ग्राहक र स्टाफ संक्रमणको जोखिममा परेका छन् । आफूहरुलाई पनि सरेको हुन सक्ने भन्दै परीक्षणको ब्यवस्था मिलाउन माग गरेका छन् । वडाध्यक्षले स्थानीय क्वारेन्टाइनमा भारतबाट आएकाको खानेबस्ने ब्यवस्था गर्दै आएका थिए ।
उनी थुप्रै स्थानीय र परिवारसँग घुलमिल भएकाले थप त्रास फैलिएको छ । नगरपालिकामा आइसोलेशन नभएका कारण राख्न नसकिएको नगरप्रमुख लालबहादुर महताराले बताए । ‘उहाँहरुलाई घरमै क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छौँ । सिटामोलबाहेक अरु औषधी छैन के दिऊँ’, नगरप्रमुख महताराले भने, ‘आइसोलेशन बनाउँदै छौँ। मानिस भारतबाट आउने क्रम जारी छ । ६ वटा क्वारेन्टाइनमा नअटेपछि खाली घरमा राख्न थालिएको हो ।’हालै मात्र नगरपालिकामा भारतबाट आठ सय ४० भित्रिएका छन् । छेडागाडमा कोरोना संक्रमितको संख्या चार र जिल्लाभर नौ पुगेको छ । प्रहरी निरीक्षकसहित चार जना बारेकोट र शिवालयका एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैको सिटामोलको भरमा उपचार भैरहेको छ ।
कोरोनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाएको १५ दिन बितिसक्दा पनि नलगाड र छेडागाडको रिपोर्ट आउन सकेको छैन । जिल्लाका विभिन्न ३७ क्वारेन्टाइनमा करीव तीन हजार मानिस बसिरहेका छन् । उनीहरुको ब्यवस्थापनका लागि दैनिक पाँच लाख बढी खर्च भइरहेको छ ।