गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोरबाट श्थलल नामक लोकप्रिय भिडियो शेयरिङ एप हटाएको छ ।नक्कली टिकटकको नामले समेत चिनिने जाइन एपले अन्य एपहरुबाट विना अनुमति सामाग्रीहरु चोरी तथा नक्कल गर्ने गरेको आरोप पछि गुगलले यस्तो कदम चालेको हो ।टिकटक जस्तै प्रकृतिको यो एपले प्रयोगकर्ताहरुलाई एपमा साइन अप गरेमा तथा भिडियोहरु हेरेको खण्डमा नगद रकम प्रदान गर्ने गर्दथ्यो । जसका कारण पनि यो एप पछिल्लो समय अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएका एपहरुमध्ये परेको थियो ।
लोकप्रिय बन्दै गएको यो एपमाथि धेरै सोसल मिडिया सेलिब्रेटीहरुले आफ्ना भिडियो तथा अन्य सामाग्रीहरु अनुमति विना नै पोष्ट गरेको गुनासो गरेसँगै जाइन एप विवादित बनेको थियो । लाखौँ फलोअर्स भएका चर्चित टिकटक सेलिब्रेटीहरुले समेत जाइन एपमा बनाइएको आफुहरुको नक्कली खातामा आफ्ना टिकटक भिडियोहरु चोरी गरी अपलोड गर्ने कार्य भैरहेको बताउँदै आएका थिए ।यद्यपि जाइनले भने बौद्धिक सम्पत्ति चोरीको विषयमा उजुरी ग्र्नका लागि आफुले नयाँ विधिको सुरुवात गरेको बताएको थियो ।
जाइन एप चिनिया कम्पनी कुआइशोउले उत्पादन गरेको हो । जुन चीनमा पनि टिकटकको मातृ कम्पनी बाइट डान्सको प्रतिस्पर्धीका रुपमा रहेको छ ।यहीँ मे महिनाको सुरुवात देखि मात्रै यो नयाँ एप आधिकारिक रुपमा गुगल प्ले स्टोरमा उपलब्ध भएकोमा छोटो समयमै व्यापक लोकप्रियता हासिल गरिसकेको थियो ।यद्यपि कतिपय नक्कली अकाउन्टहरुले भने यो प्लाटफर्ममा गत अप्रिल देखि नै सामाग्रीहरु अपलोड गर्न सुरु गरिसकेका थिए ।यो एपको सबैभन्दा आकर्षक पक्ष भनेकै यसलाई प्रयोग गरेबापत प्रयोगकर्ताले पैसा कमाउन सक्दछन् ।
यो एपमा भिडियो हेर्दा वा अन्य साथीलाई इन्भाइट गर्दा पुरस्कारको रुपमा पैसा प्राप्त हुन्छ । आर्जित रकमलाई गिफ्ट कार्ड खरीद वा पेपलमार्फत खातामा पठाउन सकिन्छ ।तथापि यो एपमाथि सर्जकका सामाग्रीहरुको चोरी तथा नक्कलको आरोप लागेसँगै गुगलले त्यसलाई प्ले स्टोरबाट हटाएको छ । यद्यपि यस बारेमा गुगलले कुनै आधिकारिक जानकारी गराएको छैन ।उता एप्पलले चाहीँ यस एपका बारेमा अनुसन्धान चलिरहेको र हालसम्म एप स्टोरमा उपलब्ध रहेको जनाएको छ । एजेन्सी