‘मीटू’ का कारण महिला कर्मचारी नियुक्त गर्न चाहँदैनन् रोजगारदाता
वीरगंज संजाल
२४ भाद्र २०७६, मंगलवार १०:२४
३७८७
एजेन्सी । विश्वव्यापी रुपमा सञ्चालित ‘मीटू’ अभियान महिलाहरुको पक्षमा चालिएको हालसम्मकै ठूलो कदम भए पनि यसका केही अनपेक्षित परिणामले दिन प्रतिदिन खराब रुप लिँदै गइरहेका छन् । केही समय अगाडि मात्र विश्वभर कार्यस्थलका पुरुषहरु महिला कर्मचारीसँग आमनेसामने एक्लै कुरा गर्नमा हिचकिचाइरहेको खबर आएको थियो जसले कामदारहरुबीच अन्तरक्रियाको वातावरण नै भङ्ग गरिदिएको बताइएको थियो ।
यसबीच हालैको अर्को अनुसन्धानमा, महिला नियुक्ति पनि मीटूका कारण नराम्ररी प्रभावित भइरहेको पाइएको हो । विशेषगरी पुरुषहरुसँग बोल्नुपर्ने किसिमका काममा रोजगारदाताले महिलालाई राख्न नचाहेको अनुसन्धानले देखाएको छ । अध्ययनमा २१ प्रतिशत पुरुष र १२ प्रतिशत महिला कामदाताहरुले व्यक्तिगत रुपमा पुरुषसँग पारस्परिक सहकारिता जनाउनुपर्ने किसिमको कामका लागि महिलालाई नियुक्त गर्न अनिच्छुक रहेको बताएका हुन् ।
यति मात्र नभएर पाँचमध्ये एक पुरुष आकर्षक महिलासँग काम गर्नै नचाहेको पनि पाइएको छ ।
जर्नल ‘अर्गनाइजेसनल डाइनामिक्स’ मा चाँडै प्रकाशित हुने यी तथ्याङ्कले मीटू अभियानपछिका केही व्यावहारिक परिवर्तनहरुतर्फ सबैको ध्यानाकर्षण गराउने बताइएको छ ।
तर वास्तवमा कार्यस्थलमा सहज वातावरण सिर्जना गर्न महिलाहरुकै उपस्थिति बढी आवश्यक पर्ने पनि अनुसन्धानका क्रममा पत्ता लागेको हो । यसमा जति धेरै महिला कर्मचारी, कामको वातावरण पनि उति नै सकारात्मक हुने गरेको देखिएको हो ।
तरपनि यसरी मीटू अभियानको नतिजास्वरुप महिलाहरु कम नियुक्त हुनुले यस विश्वव्यापी अभियानको सफलतामै चोट पुर्याएको बताइएको छ । कार्यस्थलमा महिलाहरुले भोग्नुपर्ने समस्या सम्बन्धी सबैलाई जागरुक बनाउन मीटू अभियानले ठूलो भूमिका निर्वाह गरे पनि यही क्रम जारी रहेमा मीटूले महिला कर्मचारीहरुको प्रतिनिधित्व नगरि उल्टै उनीहरुमा अवसरको कमी गराउने स्पष्ट भएको छ ।
तर यी तथ्यका लागि मीटू अभियानलाई मात्र पूर्ण जिम्मेवार ठहर्याउन पनि नसकिने बताइएको छ ।
किनकि मीटू सुरु हुनुपूर्व न्युयोर्क टाइम्सले सार्वजानिक गरेको रिर्पोटमा त्यतिबेलैदेखि २२ प्रतिशत पुरुषहरु महिला कर्मचारीसँग एक्लै मिटिङ गर्न वा बिजनेस भ्रमणमा जान हिचकिचाउने गरेको पाइएको थियो ।
तापनि मीटू अभियानले यस समस्यालाई झन ठूलो रुप दिएको पनि उति नै सत्य हो । यसअघि प्यु रिसर्च सेन्टरको अध्ययनका क्रममा पनि ५१ प्रतिशत कर्मचारीहरुले मीटू अभियानपछि विपरित लिङ्गका सहकर्मीसँग अन्तरक्रिया गर्नमा कठिनाइ भएको स्वीकार गरेका हुन् । फोर्ब्सबाट