वीरगंज | लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन)ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख ९६ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको छ ।
आम्दानी गत २६ जेठसम्मको भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले गत २६ जेठसम्म ८ खर्ब ३९ अर्ब ८१ करोड ३२ लाख ५५ हजार ३ सय रुपैयाँ कुल खर्च गरेको छ ।
सोही अवधिमा २० अर्ब ९९ करोड ३७ लाख ४० हजार रुपैयाँ बचतमा रहेको महालेखा नियन्त्रण कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए ।
उनले लकडाउनकै कारण विगतका वर्षमा जस्तो अहिले विकास खर्च र राजस्व संकलन नभए पनि मुलुकको सरकारी खर्च समान्य अवस्थामा नै रहेको बताए ।
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले गत ११ चैतदेखि निरन्तर जारी राखेको लकडाउनदेखि अहिलेसम्म मुलुकभरको सम्पूर्ण आर्थिक गतिविधिमा अवरोध पुगेको छ भने व्यापार व्यवसाय ठप्प छन् ।
जसका कारण अहिले सरकारी राजस्व खाता घटेको छ । आर्थिक कारोबार ठप्प भएकाले विगतका वर्षमा जस्तो चालु आर्थिक वर्षको असार मसान्त समाप्त हुने समय नजिकिने बेलामा समेत मुलुकको राजस्व उठ्न सकेको छैन । अहिले राजस्वको तुलनमा खर्च अत्यधिक बढी छ ।
राजस्वको तुलनामा चालु खर्च एवं प्रशासनिक खर्च बढी भए त्यसलाई राजस्व खाता घाटा भनिन्छ । अहिले राजस्व खाता घाटा उन्मुख हुँदै गएको देखिन्छ ।
किनकि लकडाउनअघि राजस्व खाता १ खर्बभन्दा बढीले बचत रहेकामा अहिले त्यो खुम्चिएर जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबार सरकारले जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।
सरकारले विभिन्न शीर्षकमा गरी सो राजस्व संकलन गरेको हो । तर, खर्च भने सोही दिनमा ६ अर्ब ३६ करोड ३८ लाख रुपैयाँले बढेको थियो ।
मंगलबार संकलन भएको राजस्व र खर्च विवरणका आधारमा ४ अर्ब ७ करोड १८ लाख रुपैयाँ घाटा भएको हो ।यो समाचार आजको राजधानी दैनिमा छ ।