वीरगंज | सरकारले लकडाउनको स्वरुप परिवर्तन (मोडालिटी) बारे आज औपचारिक निर्णय गर्ने भएको छ ।
दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असार १ गतेबाट क्रमश लकडाउन खुकुलो बनाउँदै खोल्ने विषयमा निर्णय गर्न लागेको हो ।
लकडाउन खोल्ने विषयमा उच्चस्तरिय समन्व्य समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल उक्त प्रस्ताव गर्दैछन् ।
समितिले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति तयार पारेको छ । साढे २ महिनामा लकडाउन पूर्ण रुपमा खोल्ने गरि पाँच चरण अर्थात दस हप्ते योजना तयार पारेको समिति सदस्य समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल समयलाई जानकारी दिए ।
उक्त योजना अनुसार असार १ बाट नै कृषिसँग जोडिएका क्षेत्र, पसल, उद्योग, हवाई यातायात आशिंक रुपमा चल्न दिइने भएको छ । विद्यालय, सार्वजनिक यातायात, मनोरञ्जनका क्षेत्र, खेलकुदका गतिविधि भने अबको एक महिनापछि मात्रै चल्ने कार्यनीतिमा उल्लेख छ ।
सर्वसाधरण र व्यवसायीले स्वस्फूर्त रुपमा लकडाउन तोड्न थालेपछि सरकार बाध्य भएर लकडाउन खोल्ने मनस्थितीमा पुगेको हो । केहिदिन यता दिनहुँ काठमाडौंलगायत देशका विभिन्न स्थानमा व्यापारी र प्रहरीबीच पसल खोल्ने विषयमा विवाद हुँदै आएको छ ।
सरकारले अहिलेसम्म आठ पटक लकडाउनको अवधी थपेर जेठ ३२ गतेसम्म लकडाउन लम्व्याएको थियो । नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको हो ।
प्रधानमन्त्रीको सम्बोधन
मन्त्रिपरिषद्को बैठकले लकडाउन बारे निर्णय गर्नुअघि आज (बुधबार) बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
लकडाउनको मोडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता मात्रै विज्ञहरुसँग छलफल गरेका थिए।