वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोना भाइरसको २० लाख भाइरस भ्याक्सिन उत्पादन भइसकेको दाबी गरेका छन् । यी भ्याक्सिन तयारी अवस्थामा रहेको र वैज्ञानिकहरुले सुरक्षित र प्रभावकारी भए–नभएको जाँच गरेपछि बजारमा लैजान सकिने दाबी उनले गरेका हुन् ।
‘भ्याक्सिन निर्माणमा अद्भूत प्रगती भइरहेको छ,’ शुक्रबार बिहान ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘यदि परीक्षणले सुरक्षित देखायो भने हामीसँग २० लाखभन्दा धेरै भ्याक्सिन तयारी अवस्थामा छ ।’
ट्रम्प प्रशासनले भ्याक्सिन उत्पादनका लागि पाँचवटा कम्पनीहरुलाई छनोट गरेको छ । शुक्रबार ट्रम्पले यी पाँच कम्पनीमध्ये कसले उत्पादन सुरु गरे भन्ने विषयमा केही बोलेनन् ।
यसै साताको सुरुमा ह्वाइटहाउसका स्वास्थ सल्लाहकार एन्थोनी फाउचीले संभावित भ्याक्सिनका कम्तिमा ४ वटा परीक्षणमा आफु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भएको बताएका थिए । फाउचीले २०२१ को सुरुवातसम्म अमेरिकी मिलियन डोज उपलब्ध हुने आशा राखेका थिए ।
अमेरिकी अधिकारी र वैज्ञानिकहरु कोभीड–१९ रोकथाम गर्ने भ्याक्सिन २०२१ को मध्यसम्म आइपुग्नेमा आशावादी छ । –एजेन्सी