काठमाडौं | कोरोना संक्रमणको डरले कति गर्भवती तथा सुत्केरीले नियमित स्वास्थ्य जाँचसम्म पनि नगराउँदा जोखिम बढेको पाइएको छ । हुन त नेपालमा मातृमृत्युदरको अवस्था पहिलेदेखि नै बढी छ । यसलाई नियन्त्रण गर्ने भन्दै सरकारले सुरक्षित मातृत्व कार्यक्रम संचालन गरे पनि समस्या समाधानका लागि राज्यले निर्धारित गरेको लक्ष्य हासिल गर्न सकेको छैन । अझ कोरोनाको महामारी र लकडाउनको अवस्थाले त मातृमृत्यु विगतको तुलनामा बढ्न पुग्यो ।
एकथरी कोरोनाको डरले अस्पतालसम्म जान नै डराउने, अर्कोथरीलाई अस्पताल आवतजावत गर्न यातायातको अभाव र अझ अर्कोथरी जो अस्पतालको पहुँचबाट टाढा रहेका त्यसमाथि लकडाउनका कारण समयमा अस्पतालसम्म पुग्न असमर्थ ।
डा. गौतमले संक्रमणबाट बँच्ने नाममा गर्भवती, सुत्केरी तथा नवजात शिशु बढी अन्य रोगको मारमा परिरहेको बताएका थिए । त्यसैगरी, लकडाउनको दुई महिनाको अवधिमा मात्रै नेपालमा करीब ६० हजार सुत्केरी महिला स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेको आँकलन पनि गरिएको थियो ।
नेपालमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका भन्दै लकडाउन गरिएको साढे दुई महिना भइसकेको छ । तर, अन्य विद्यमान समस्याको न्यूनीकरणमा खासै चासो दिएको पाइएको छैन जसका कारण नेपालमा कोरोना संक्रमणले भन्दा पनि अन्य कारणले मानिसको ज्यान गइरहेको छ ।
सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न जरुरी छ जति उल्लङ्घन हुन्छ उति संक्रमणको जोखिम बढ्छ । तर यो अवस्थामा जोखिममा रहेका नागरिकका लागि विशेष सुुविधा दिनु राज्यको कर्तव्य हो । यसमा राज्य चुकेको छ जसको कारण आज मातृमृत्यु र अन्य रोगका कारण भएका मृत्युका खवरहरु आइरहेका छन् ।
यसै सन्दर्भमा सवैभन्दा महत्वपूर्ण पक्ष भनेको कोरोनाको जाँच हो । डेलिभरीको समय छ र शल्यक्रिया गर्नुपर्ने छ भने अनिवार्य पीसीआर परीक्षण गर्नुपर्छ । एकजनाको पीसीआर परीक्षण गर्दा अस्पताल, डाक्टर नर्स र कर्मचारी साथै सुत्केरीका परिवार पनि सुरक्षित हुन सक्छन् ।