वीरगंज | जब बर्षा लाग्छ, तब बिभिन्न संघसंस्थाले वृक्ष रोपण गर्न थाल्छन् । वीरगंजकै सन्दर्भमा भन्नुपर्दा, जिल्लामा दर्ता भएर काम गरिरहेका सबै संस्थाले वृक्षरोपण गरिसकेका छन् । यहाँ उल्लेख गरेको चाहिँ नकारात्मक रुपमा होइन । वृक्षरोपण गरे, यो नराम्रो भयो भन्ने मक्सत होइन ।
वृक्षरोपण गर्नुपर्छ । जन्मदिनको उपलक्ष्यमा पनि गर्नुपर्छ, विजयी हुँदा, पुरस्कृत, सम्मानित हुँदा, बच्चा जन्मदा वा बिभिन्न खुशीको उत्सवमा वृक्षरोपण गर्नुपर्छ । आफन्त, प्रियजनको मृत्यु हुँदा उनको स्मरणमा, स्मृतिमा पनि वृक्षरोपण गर्नुपर्छ ।
रुख रोप्नु, वन जोगाउनु जरुरी छ त्यसैले वृक्षरोपण गर्नुपर्छ भन्नेमा दुईमत छैन । सबैले वृक्षरोपण गरिरहेका छन् । फोटो खिचाएका छन् , फेसन बनाएका छन् । तर अहिलेसम्मको अभ्यासलाई हेर्दा, यसरी फेसनको रुपमा रोपिएको बिरुवा जोगिएको पाइएको छैन ।
वृक्षरोपण गर्ने संस्थाले वृक्ष जोगाउने अभियान नचलाएसम्म वुक्षा रोपण गरेको कुनै अर्थ रहँदैन । वनको काँडाको रुख कसैले रोपेको होइन यद्यपि यस्तो विरुवा राम्ररी हुर्किन्छ तर मान्छेले बडो हिफाजतका साथ रोपेको विरुवा जोगिदैन ।
कारणको अध्ययन गर्नुपर्छ । गरेको काम नतिजामुखी होओस् भनेर अबचाहिँ रोपिएका विरुवालाई जोगाउने कार्यक्रम ल्याउनु पर्छ । कसले कति वटा विरुवा रोप्यो भन्नुभन्दा कसले कतिवटा विरुवा जोगायो भनेर चर्चा गर्नुपर्ने, कसरी जोगाउो भन्ने चेतनामुलक कार्यक्रम गर्नुपर्ने, जोगाऊ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।