सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । ‘डेथ भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्यौं । पोजेटिभ आएको छ,’ उनले भने ।
यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।
मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।