बीरगन्ज । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।