वीरगंज | नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार एक ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
दोलखाका बृद्ध जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए। अपरेसनपछि गरीएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्रिवि टिचिङ अस्पतालमा पठाइएको थियो।
प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो। बुधबार एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ।
नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिएका छन्। बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ।
मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ। त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि संक्रमण देखिएको छ। सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन्।
नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन्। कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन्। उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ। सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन्।
जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन्। डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन्। उनीहरु २२ र २५ वर्षीय रहेका छन्। रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्। कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन्। जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन्। उनीहरुमा १० जना महिला रहेका छन्। १ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन्। रुपन्देहीमै पाल्पाका २ जना संक्रमित भेटिएका छन्। रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ।