काठमाडौं | दैलेखमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको परिवारका सदस्यहरूको अहिलेसम्म पनि कोरोना परीक्षण हुन सकेको छैन । जेठ १७ गते दैलेखको दुल्लु नगरपालिकास्थित पटाङ्गीनी क्वारेन्टाइनमा रहेका वडा नम्बर ११ का पुरुषको मृत्यु भएको थियो।
भारतबाट घर फर्केका उनको क्वारेन्टाइनमा बसेको ८ दिनमा मृत्यु भएको थियो। क्वारेन्टाइनमा रहेका बेला उनको परिवारका सदस्य भेटघाटका लागि पुगेका थिए। मृतकका परिवारमा श्रीमती, एक छोरा, एक छोरी र बुबाआमा गरी ६ सदस्य रहेका छन्।
उनको मृत्यु भएपश्चात परिवारका सदस्यले कोरोनाको परीक्षण गरिदिन माग गरे पनि अहिलेसम्म उनीहरूको स्वाब संकलन नभएको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिए। ‘मृतकका परिवारले कोरोनाको जाँच गरिदिन माग गरेका थिए’, उनले भने, ‘हामीले नगरपालिकालाई जानकारी गराएका थियौं तर अहिलेसम्म पनि कुनै परीक्षण हुन सकेको छैन।’