वीरगन्ज | भारतले आफनै देशका नागरिकलाई प्रवेशमा कडाइ गरेपछि वीरगन्जको अलौंस्थित आइसीपीमा एक हजार भन्दा बढि भारतीय नागरिक अलपत्र परेका छन्। नेपालका विभिन्न स्थानबाट वीरगन्ज आएका भारतीयलाई पर्साको स्थानीय प्रशासनले जेठ १३ गतेदेखि भारतीय प्रहरी प्रशासनसँग समन्वय गरेर भारत पठाउँदै आएको छ।
तर शुक्रबार एकै पटक १५ सय भन्दा बढि भारतीय आइसीपी नाकामा पुगेको र ती मध्ये ५ सय जनालाई मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ। शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ हजार भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानैदेखि अलपत्र परेका हुन्।
भारतीय प्रशासनले ५ सय भन्दा बढिलाई जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ। जसका कारण १ हजार भन्दा बढि भारतीय आइसीपी गेट अगाडिकै सडकमा अलपत्र परेको अलौंका स्थानीय आशिक अन्सारीले बताए।
भारत प्रवेश नपाएपछि भारतीयहरुले आइसिपी गेट अगाडि होहल्ला गर्दै प्रदर्शन गरेको र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सामान्य बल पनि प्रयोग गरेको अन्सारीले जानकारी दिए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले शुक्रबार एक्कासी १५ सय भन्दा बढि भारतीय आइसीपीमा पुगेकाले समस्या भएको बस्नेतले बताए।
‘ती मध्ये ५ सय जना भारतीयलाई भारतीय प्रहरीले जिम्मा लिएर लगेको छ’ उनले भने ‘बाँकीलाई जिम्मा लिन नमानेपछि १ हजार भन्दा भारतीयहरु आइसीपीमै रोकिएका हुन्। उनीहरुलाइ क्रमश शनिबारदेखि भारत पठाइने उनले बताए। नेपालका विभिन्न स्थानबाट वीरगन्ज नाकामा आइपुगेका भारतीयलाइ जेठ १३ गतेदेखि आइसीपी नाकाबाट भारतीय पक्षको जिम्मा लगाएर पठाउन थालिएको हो।
बस्नेतका अनुसार आइसीपी नाका हुँदै शुक्रबारसम्म २ हजार भन्दा बढि भारतीयलाई पर्साको स्थानीय प्रशासनले भारतीय प्रहरीको जिम्मा लगाएर भारत पठाइ सकेको छ। शुक्रबार जेठ १६ गते ५ सय , जेठ १५ गते ५ सय ९१ , जेठ १४ गते ६०७ र जेठ १३ गते ३८८ भारतीयलाई भारत पठाइएको बस्नेतले बताए।
घर फर्कने क्रममा आइसीपी नाकामा आइ पुगेकाहरुलाई अलौंका स्थानीयवासीले गाउँ घरमा सहयोग संकलन गरेर र दाताहरुसँग जिन्सी सहयोग लिएर खाना र बासको व्यवस्थापन गर्दै आएका थिए। तर शुक्रबार आइसीपीमा रोकिएका भारतीयहरु १ हजार भन्दा बढि रहेको र अब खानाको लागि खाद्यान्न पनि नभएकाले शुक्रबार साँझदेखि उनिहरुलाइ खाना खुवाउने अवस्था नरहेको स्थानीय आशिक अन्सारीले बताए।
यसका साथै १ हजार भन्दा भारतीय गाउँसँगै जोडिएको आइसीपीको सडकमा बसिरहरेकाले त्यसले कोरोनाको संक्रमण फैलने हो कि भन्ने त्रास पनि अलौंका स्थानीयमा परेको अन्सारीले बताए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने आइसीपीमा रोकिएका भारतीयले खाना र बासको प्रबन्ध आफ्नै तरिकाले गर्ने बताए।