जनकपुरधाम– खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा एक युवकको मृत्यु भएको छ ।भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् ।
भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि सो युवकको भोकको कारणमृत्यु भएको हो । मृतक यादव अहमदाबादमा होटलमा कुकको काम गर्दै आएका थिए ।
जटही नाकाबाट करिब ३ सय नेपाली लाठी, भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । प्रर्दशनको क्रममा उनीहरूले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका छन् ।
आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन। उनीहरु पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै यता तर्फ आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेषण नगरेको भन्दै पत्रकार विरुद्ध समेत पर्दशन गर्दै जनकपुरधाम तर्फ उनीहरु आइरहेका छन् ।
यसैबीच उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुरधाम तर्फ आईरहेका उनीहरुलाई अहिले धनुषाको नगराइनमा ठुलो संख्यामा प्रहरी परिचालन गरि रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफुहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।भारी संख्यामा सिमानाकामा अलपत्र परेका उनीहरूलाई गन्तव्यसम्म पुर्याउन स्थानीय प्रशासनले अहिले ३ वटा बस पठाएको बताइएको छ । thenepaltop