झापामा एकैजनाले ठगे आठ सयलाई, ठग्नकै लागि पाँचवटा ‘फेक आईडी’
वीरगंज संजाल
३१ श्रावण २०७६, शुक्रबार १०:२५
५३९१
काठमाडौं । अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको पनि कमी छैन ।
झापामा पनि यस्तै भएको छ । एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेको पाइएको छ । ती ठग्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
ठग्नकै लागि पाँचवटा ‘फेक आईडी’
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए । उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा एकाउन्ट खोलेका थिए । ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।
यसरी ठग्थे युवालाई
उनले फेसबुकको म्यासेन्जरबाट विभिन्न जिल्लाका मानिसहरु (विशेषगरी खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुष व्यक्तिहरु) सँग सम्पर्क गर्थे र मित्रता गर्थे । त्यसपछि उनी आफू विगत १४ वर्षदेखि अध्ययनको लागि क्यानडा आएको र उतै बिहे गरी पीआरसमेत प्राप्त गरेको बताउँथे । डीएसपी थापाका अनुसार क्यानडामा आफ्नै लगानीमा चारवटा वटा क्याफे सञ्चालन गरिराखेको र कैयौं नेपालीहरुलाई रोजगारी दिलाएको तथा गैरआवासीय नेपाली संघ, क्यानडाको उच्च पदस्थ अधिकारीसमेत भएको बताउने गरेका थिए । यस्तो परिचय दिएपछि सहजै अरुको विश्वास आफूमाथि हुने उनको बुझाइ थियो । विदेशमा भएका नेपालीमार्फत् नेपालमा भएका युवासँग पनि उनी दोस्ती अगाडि बढाउँथे ।
त्यसपछि उनी आफ्नो बाबु बिरामी परेकोले उपचारको लागि बाबुलाई क्यानडा नै लैजानको निम्ति नेपाल आएको र हाल भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेको नेपाली युवालाई बताउँथे । त्यहीबीचमा उनले बाबुलाई क्यानडा लैजाँदा ‘स्पोन्सर्ड’ भिसामा अरुलाई पनि क्यानडा लैजान सकिने बताए । त्यसक्रममा उनले दूतावासमा चार लाख खर्च हुनेमा दुइ लाख आफू नै सहयोग गरिदिने र सो रकम पछि क्यानडामै पुगेर काम गरी तिर्दा हुने भनी विश्वास दिलाएको अनुसन्धानका क्रममा खुलेको डिएसपी थापाले बताए ।
नेपालबाट दिल्लीमा बोलाएर लुटियो
त्यसका लागि सयौं युवा तयार भए । रामबहादुर खड्काले पीडित व्यक्तिहरुलाई दिल्लीस्थित क्यानडा दूतावासमा अन्तरवार्ताका लागि भारत सिलगुडीको बाग्डुग्रा एअरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै सबैलाई तयार गरे । झापाको दमक, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा र भारतको पानीटंकीसम्म बोलाएर दूतावासमा अन्तरवार्ताका लागि चिटिक्क हुनुपर्छ भनेर सिकाए । त्यही क्रममा सबैलाई कपाल काट्न लगाउँदै आफूचाहिँ पीडितहरुसँग भएको पैसा मागी भारु साटेर आउँछु भन्दै निस्किए । त्यसपछि उनले आफ्नो आईडीबाट सबैलाई ब्लक गर्दै मोबाइल अफ गरेर फरार भएका थिए ।
डीएसपी थापाका अनुसार खड्काले सन् २०१२ देखि हालसम्म आठ सयभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकरभिट्टामा उजुरी दिनेहरुको संख्या एक सयभन्दा बढी छ ।
पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यहाँसम्म कि खड्काले पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध महसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।