चितवन | भरतपुर अस्पतालको आइसीयुमा एकजना बिरामीको मृत्यु भएको छ। बिरामीको कोरोना रिपोर्ट भने आउन बाँकी छ। बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ वर्षीय पुरूषको बुटबलमै स्वाब परीक्षण गरिएको थियो ।
रिफर गरिएका बिरामीको आइतबार राती १२ बजे मृत्यु भएको हो । भरतपुर अस्पतालमा भर्ना गरिएको केही बेरमा उनको मृत्यु भएको अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए । ‘शंका लागेको भएर कोभिड आइसीयुमा राखेका थियौं, केही बेरमा मृत्यु भयो, डा. तिवारीले भने,’ बुटवलबाटै स्वाब संकलन गरिएको हुनाले रिपोर्ट कुरेका छौं।’
मृतकको शव आइसीयुमै रहेको छ । कोरोना परीक्षणको रिपोर्ट पछि मात्रै प्रक्रिया थालिने उनले बताए । भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलका अनुसार ती बिरामीमा निमोनिया देखिएको थियो ।
२ दिन पहिले खाना खाएपछि बान्ता भएको र लगतै स्वास फेर्न गाह्रो भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए । भरतपुर अस्पतालले पनि स्वाब संकलन गरेर राखेको छ । बुटवलमा परीक्षण गर्न ढिलाई भए भरतपुरमा गर्ने उद्देश्यले नमूना संकलन गरिएको हो।