विरगंज | विरगंज संजालको तर्फ बाट मुस्लिम धर्मावलम्बी हरुको महान पर्ब ईद को पावन अवसरमा सबै मुस्लिम धर्मावलम्बी हरुमा धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ ।
चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालाई अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ ।
प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको ईदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ ।
समाज र समानतासंग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइन्छ ।भातृत्व र उत्साहको यो पर्वमा तपाईं हामी सबैलाई ईद उल फितरको शुभकामना ।