वीरगञ्ज | वीरगञ्ज महानगरपालिका वडा नं १७ मा रहेकाे आइसिपी गेटमा भारतीहरू अलपत्र परेका छन् । भारत जान नपाएका भारतीयहरू विगत ५ दिनदेखि आइसिपी गेटमै अलपत्र पर्दा विचल्ली भएकाे छ । काेराेनाका त्रासका कारण भित्रिनमा भारत सरकारले राेक लगाएका कारण उनीहरू अलपत्र परेका हुन् ।नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि बिचल्लीमा परेको स्थानीय वीरेन्द्र यादवले अनलाइनखबरलाई बताए ।उनले भने, ‘नेपालका विभिन्न भागबाट आएका तीन सय भन्दा बढी भारतीय नागरिकहरु अहिले यहाँ छन् ।
जसमा पुरुष, महिलादेखि लिएर बालबच्चा पनि छन् ।कतिपय महिलाहरु गर्भवतीसमेत छन् । उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत जान दिएका छैननन् । उनीहरुको बिचल्ली अवस्था देखेपछि चार दिनयता स्थानीयले खाना खुवाइरहेका छन् ।आईसीपी गेटमा भारत फर्कनेहरुको दिन प्रतिदिन भिड लाग्न थालेपछि स्थानीयमा संक्रमण फैलने त्रास समेत बढेको यादवले बताए ।भारतीय नागरिक यसरी आईसीपी गेटमा भिड लाग्दा संक्रमण फैलन खतरा बढेकोप्रति पर्साका प्रमुख जिल्ला अधिकारी र पर्साका एसपीको समेत ध्यानाकर्षण गराइसकेको उनले बताए ।