वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरु आफैंले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरुले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट शनिबार सफा गरेका हुन् ।
अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ । अस्पतालमा भर्ना भएयता अहिलेसम्म एक पटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सरसफाई नगर्दा थप संक्रमण हुने डर भएपछि आफूहरुले नै सरसफाइ गरेको एक संक्रमितले बताए ।‘राम्रोसँग सरसफाइ गरिदिन अस्पताल प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि हामी आफैंले सफा गर्यौं,’ ती संक्रमितले भने ।
अर्का संक्रमितले भने, ‘सर्फ र पानी हालेर तीन वटा आइसोलेसन वार्ड, गल्ली, बाथरुम र ट्वाइलेट सफा गर्यौं । सरसफाइको क्रममा कसैले झाडू लगाउने, कसैले पानी हाल्ने, कसैले पोछा लगाउने काम गर्यौं ।’आफूहरुको यो कामले अस्पताल प्रशासनलाई दबाव पुग्ने उनको विश्वास छ ।
‘वार्डमा रहेको शौचालयको फोहोर र दुर्गन्धले अरु रोगको संक्रमण बढ्ने त्रास संक्रमितहरुमा पर्न गएको छ,’ उनले भने, ‘अस्पतालको अटेरीपनाका कारण केही साथीहरुलाई झाडापखालकोसमेत समस्या देखियो । आजको हाम्रो कामले अस्पताल प्रशासनलाई दबाव सिर्जना हुन्छ कि भन्ने सोचेका छौं ।’
संक्रमण हुने डरले आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीदेखि सरसफाइ कर्मचारी प्रवेश गर्दैनन् । संक्रमितमध्येका अर्का व्यक्तिले भने, ‘सरसफाइ त टाढाको कुरा हो । हामीमा ज्वरो आएको छ कि छैन भनेर जाँच्नसमेत चिकित्सकको टोली आउँदैन ।’onlinekhabear