रौतहट । रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ ।
मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको भन्दै उक्त क्षेत्रका स्थानीयले नाराबाजीसहित पुतला दहन गरेका हुन् । सारा विश्वसंगै नेपाल पनि अहिले कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रीरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ को सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुन विपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै विरोध गर्दै पुतला दहन गरिएको हो ।
आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेका कारण पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए । आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भईरहेको अनधिकृत बजेट खर्च नरोकिएको लकडाउनको वास्ता नगरी आन्दोलन गर्ने चेतावनी दिए ।