काठमाडौं । कोरोनाविरुद्ध जारी लकडाउनको ६० औं दिन । गोरखाका दलबहादुर नेपालीले लकडाउन सुरु भएको तेस्रो महिना सुरु हुँदै गर्दा शुक्रबार एउटा काम पाए । फलामको ग्रिल बोक्ने । त्यो पनि सतुंगलदेखि कुलेश्वरसम्म ।एउटा रिक्सा थियो । रिक्सा पनि पछिल्लो दुई महिनादेखि कामविहीन थियो । घरमा थिए एक छोरा, एक छोरी र श्रीमती ।
रोगको त्रासका बीच आफूसहित सन्तानको भोक मेट्नको लागि उनले दुई महिनापछि पाएको एउटा कठिन कामलाई अग्निपरीक्षाको रुपमा लिएर त्यो काम स्वीकार गरे । काठमाडौंको ढुंगेअड्डा क्षेत्रमा आइपुग्दासम्म पनि उनको अनुहारमा थकाइको भाव देखिँदैन’थ्यो । बरु उनको अनुहारमा खुसीको भाव देख्न सकिन्थ्यो । किनभने उनले धेरै समयपछि काम पाएका थिए ।
३९ वर्षीय नेपाली राहतका भोका छैनन् । बस् उनले श्रम बेच्ने बजार खोजिरहेका छन् । जुन बजारमा दैनिक बगाएको पसिनाले उनको चार जनाको परिवार बाँचिरहेको थियो । त्यही बजार अहिले सुनसान हुँदा उनी रोगभन्दा पहिले भोकले मर्ने हो कि भन्ने चिन्तामा छन् ।
एक दिनको बन्दले मुखमा माड नलाग्ने मजदुरहरूको हालत यो दुई महिनाको बीचमा कस्तो होला ?लकडाउनको तेस्रो महिना सुरु हुँदै गर्दा काठमाडौंका विभिन्न ठाउँमा मजदुरहरूले आफ्नो श्रम बेच्न सुरु गरिसकेका थिए ।धेरै भिडभाड नगरी गर्न सकिने काम गर्न लकडाउनले पनि नरोकेका केही तस्वीरहरू काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरिएको छ ।