हङकङ । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीले हङकङका लागि नयाँ सुरक्षा कानुन ल्याउने घोषणा गरेको छ । यसले हङकङको स्वतन्त्रतामा ठूलो धक्का लाग्ने बताइएको छ । उक्त सुरक्षा कानुनले देशद्रोह, राज्यच्यूत, राज्यबाट अलग हुनेलगायत कानुन बनाउन हङकङका सांसदलाई प्रतिबन्ध लगाएको छ । प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानुन कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुनसक्ने टिप्पणी गरेका छन् ।उक्त कानुन आउने घोषणापछि शुक्रबार हङकङस्थिति चिनियाँ लियाजो कार्यालयअगाडि प्रदर्शन गरिएको छ । हङकङका प्रजातन्त्र पक्षधरहरुले यस कानुनविरुद्ध बृहत विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
अमेरिकाले चीनको पछिल्लो घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने सम्भावना अधिक रहेको बताएको छ । यस्तै हङकङलाई स्वायत्तता प्रदान गर्ने चीनको वाचा विपरित नयाँ कानुन रहेको उल्लेख अमेरिकाले गरेको छ ।समर्थकहरुले राजनीतिक प्रदर्शनमा हुने हिंसा नियन्त्रणका लागि नयाँ कानुन उपयुक्त हुने बताएका छन् । तर विपक्षीहरुले भने चीनले यसलाई हङकङको आधारभूत स्वतन्त्रता खण्डित गर्नका लागि प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ । गत वर्षको सुपुदर्गीसम्बन्धी विधेयकको विरोधमा दशौँ लाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण उक्त विधेयक रोकियो र त्यसपछि फिर्ता लिइयो । –बीबीसी