काठमाडौं | कतारमा पहिलो पटक नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै गोली हानी मृत्युदण्ड दिइएको हो ।तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मोहत्तरी औराही–१ अनिल चौधरीलाई मृत्युदण्डको कार्यान्वयन गरेको हो ।उनलाई पीडित परिवारले माफी दिनको लागि अस्वीकार गरेको थियो ।
मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ ।नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेका चौधरीलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।
अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । तर, हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्ध आएको आदेश सबैभन्दा कडा हो ।यद्यपी हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।
सन् २०१५ अगष्ट २७ गते कतार गएका चौधरी कार धुने कम्पनीमा सामान्य मजदुर गर्थे ।कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।
उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । अदालतमा बयानका क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको हो ।कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् ।thenepaltop