वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब स्वेच्छाले कोरोना परीक्षण गर्न पाइने जनाएको छ । मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शूल्क तिरेर जो कोहिले पनि पीसीआर र आरडीटी विधिबाट परीक्षण गराउन पाइने जानकारी दिए ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिर्पो्टिङ गर्ने शर्तमा लक्षण नभएकाले पनि कोरोना परीक्षण गर्न पाउनेछ ।
नेपाली तथा विदेशी नागरिकलाई तोकिएका सार्वजनिक स्वास्थ्य संस्थामार्फत तोकिएको दररेटमा परीक्षण सशुल्क उपलब्ध गराउने नीतिगत निर्णय गरिएको प्रवक्ता देवकोटाले बताए ।यसबाट पीसीआर परीक्षणको परीक्षण बढाउन दायरा बढ्ने उनको भनाइ छ । नेपालमा हालसम्म आरडीटी र पीसीआर विधिबाट गरेर एक लाख ७ हजार २ सय ५३ जनाको कोरोना परीक्षण भएको छ । जसमा आरडीटीबाट ७४ हजार ६ सय ४९ र पीसीआरबाट ३२ हजार ६ सय ४ जनाको कोरोना परीक्षण भएको उनले बताए ।