वीरगंज | जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् ।केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।
कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए ।चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सिथिल बनाउने गुण पनि अन्य भाइरसमा नहुने उनीहरुको भनाइ छ ।
चिकित्सकहरु के भन्छन् भने ६० वर्ष भन्दा बढी उमेरका मानिस र दिर्गरोग लागेका बिरामीहरु कोभिड १९ संक्रमणको उच्च जोखिममा हुने गरेका छन् । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा संक्रमित छन् ।गत अप्रिलमा केही अध्ययनले के देखाए भने, केही बिरामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अस्वभाविक गति थियो । र हानिकारक पनि ।
यससँगै केही अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो । जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।