बीरगन्ज | पर्सामा भोलिदेखि निषेधाज्ञा हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय हो ।
गत बैशाख २९ गते राति ८ बजेदेखि लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जेठ ५ अर्थात आज राति १२ बजेसम्मका जारी गरिएको थियो । निषेधाज्ञाले स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएपछि चौतर्फी रुपमा निषेधाज्ञा हटाउनुपर्ने माग उठ्दैं आएको थियो ।
निषेधाज्ञा हटे पनि नेपाल सरकारले लकडाउनलाई जेठ २० गते सम्मका लागि लम्ब्याएका लागि लकडाउनको नियम पालना गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सबै सँग अनुरोध गरेको छ ।
साथै, सामाजिक दुरी कायम गरेर अत्यावश्यक सामानका पसल खोल्न दिने तर व्यवसायी तथा ग्राहकले सामाजिक दुरी कायम नगरी कोरोनाको जोखिमलाई बढाए थप कडा निर्णय लिन प्रशासन बाध्य हुने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
साथै, बैठकले सामाजिक दुरीलाई कायम गर्दै कृषि तथा खेतीपाति गर्नै दिने र नेपाल सरकारले सन्चालन अनुमति दिएका ४२ उद्योगहरुलाई पनि सन्चालन गर्न दिने निर्णय गरेको छ ।
यसका साथै सन्चारकर्मीलाई सवारीसाधन सन्चालनमा लगाइएको रोक पनि बैठकले फुकुवा गरेको सप्रजिअ बस्नेतले जानकारी दिए ।