राजविराज | कोरोना संक्रमण रोकथामका लागि सीमानाका बन्द भएका बेला भारतबाट प्रवेश गर्ने क्रम ह्वात्तै बढेको छ। भारतले रेल सेवा सुरु गरेसँगै नेपालीहरू दक्षिण सीमाबाट चोरबाटो हुँदै नेपाल भित्रिने क्रम बढेको तर व्यवस्थापनको तयारी नभएको स्थानीयले बताएका छन्। सप्तरीको बेल्ही, रामनगर, काचन, देउरी, तरही, भुतही, औरही, झुटकी, बननिया, छिन्नमस्ता, लालापट्टी, तिलाठी, रामपुरा मल्हनिया, हनुमाननगर, भारदह र कोसी नदीबाटै पनि प्रवेश गर्ने सयौं चोरबाटो भएकाले रोक्न सक्ने अवस्था छैन।
सीमाक्षेत्रमा आइपुगेका सयौं नेपाली विभिन्न नाकाबाट अनाधिकृत रूपमा प्रवेश गरिरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। यादवकाअनुसार प्रवेश गरेका व्यक्तिलाई तिलाठी कोइलाडी, हनुमाननगर, छिन्नमस्ता, बलान-बिहुलस्थित क्वारेन्टाइनमा राखेर सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ। बलान-बिहुल गाउँपालिका ४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा भारतबाट आएकालाई राखेको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि सशस्त्र प्रहरीले लाठीचार्ज गरेको वडा सदस्य भागवत साहले बताए।
भारतबाट आउने नेपाली बढेसँगै चार दिनको अवधिमा ३ सय २४ जना थपिएर क्वारेन्टाइनमा बस्नेको संख्या ४५९ पुगेको छ। जसमा ४९ महिला छन्। केही व्यक्ति क्वारेन्टाइनमा बसे पनि अधिकांश घरमा लुकिछिपी बस्ने गरेका छन्। फाटफुट आउने गरेकोमा पछिल्लो चार दिनयता ठूलो संख्यामा नेपालीहरू आएको जनाउँदै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरले घरमा लुकेर बसेकालाई क्वारेन्टाइनमा ल्याउने काम भइरहेको बताए।
भारतीय सीमाको लौकाहा, महादेवा, करियौत, अन्ध्रामण्ठ, भरफोडी, नेउर, राजपुर, डंगमारा, कुनौली, कमलपुर हुँदै सप्तरीको दक्षिण सीमामा सयौंको संख्यामा नेपालीहरू थुप्रिएका छन्। सशस्त्र प्रहरी बलले ५४ स्थानमा पोस्टहरू खडा गरी नियमित पैदल गस्ती गरिरहेको छ। दिनभरी सशस्त्र प्रहरीले रोके पनि राति नेपाल भित्रिने क्रम बढेपछि महामारीको सन्त्रास पनि बढेको छिन्नमस्ता गाउँपालिका-३ का वडाध्यक्ष दीपेन्द्र यादवले बताए। यादवले भने, ‘पहिले फाटफुट आउनेलाई रोक्न सकिन्थ्यो, अहिले ठूलो संख्यामा रोन मुस्किल भएको छ।’
स्थानीय तहले आवश्यक क्वारेन्टाइनको व्यवस्थापन नगर्दै ठूलो संख्यामा नेपाली मजदुर र विद्यार्थी भित्रिएपछि स्थानीय तहलाई पनि राख्नु कि छाडनु भएको छ। ‘सरकारको निर्देशनअनुरुप क्वारेन्टाइन संख्या र शड्ढया क्षमता अधिकतम बृद्धि गर्न स्थानीय तहलाई भनिएको छ,’ प्रशासकिय अधिकृत ठाकुरले भने, ‘स्थानीय तहलाई मौखिक भन्दै आएकोमा वैशाख १५ गतेदेखि लिखित रूपमा नै विदेशबाट आउनेको संख्या र क्वारेन्टाइन बढाउन भनेका छौं।’
हाल सप्तरीमा ८ सय ६५ शड्ढयाको ३५ वटा क्वारेन्टाइन छन्। तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहकाअनुसार गाउँपालिकाका लागि मात्र एक हजार बढी शड्ढयाको क्वारेन्टाइन आवश्यक छ। दुई सय अटाउने शिविर बनाउन लागेको जानकारी दिँदै अध्यक्ष सिंहले चाहिने समान नपाइएकोले समस्या भएको बताए।