काठमाडौं | लिम्पियाधुरा-कालापानी विवादमाथि भारतीय सेनाध्यक्ष मनोज नरवानेको अभिव्यक्ति खण्डन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार सरकारलाई कूटनीतिक नोट पठाएर नरवानेको अभिव्यक्ति खण्डन गर्न निर्देशन दिएको हो। भारतीय सेनाध्यक्ष नरवानेले जेठ २ गते नेपाललाई कसैले उचालेका कारण अहिले सीमा विवादको मामला अगाडि आएको अभिव्यक्ति दिएका थिए।
सरकारले भारतीय सेना प्रमुखको धारणाबारे कुनै प्रतिक्रिया नदिएपछि समितिले यस्तो निर्णय लिएको हो। ‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्ने’, समितिद्वारा दिइएको निर्देशनमा भनिएको छ।