विराटनगर : प्रदेश १ मा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिनेमा दुई मोरङ र एकजना धनकुटाका छन् ।
मोरङको विराटनगरकी एक महिला र एक पुरुष साथै धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ ।
प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
प्रदेश १ मा निको हुनेको जम्मा संख्या १७ रहेको छ । आइतबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।
नेपालभर भने कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना डिस्चार्ज भएका छन् ।