बीरगन्ज | देशमै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको पर्साको बीरगन्जमा अहिले ९६ जना कोरोना संक्रमित अहिले उपचाररत छन् । नारायणी अस्पतालमा ठाउँको अभाव भएर संक्रमितहरुलाई क्वारेन्टाइन बनाइएको सिद्धार्थ माविलाई स्तरोन्नति गरी आइसोलेसन बनाएर त्यहाँ पनि राखिएको छ ।
नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ६३ जना पुरुष र ८ जना महिला छन् ।
यस्तै, सिद्धार्थ माविमा बनाइएको आइसोलेसन कक्षमा २५ जना संक्रमित रहेको डा. सिंहले बताए । जसमध्ये २ जना बालकसहित १७ जना पुरुष र ८ जना महिला रहेका छन् ।
यस्तै, संक्रमित बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नारायणी अस्पतालको प्रशासनलाई गण्डक हस्पिटल हस्तान्तरण समेत गरिसकेका छन् । गण्डक अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।