काठमाडौं | सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सुत्केरीको कोरोनाले मृत्यु भएपछि उनको परिवारको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ। उनको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो। शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले अन्नपूर्ण अनलाइनलाई जानकारी दियो ।
वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो।
पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्रोतले अन्नपूर्ण अनलाइनलाई जानकारी दियो। तर स्वास्थ्य मन्त्रालयले महिलाको कोरोनाका कारण मृत्यु भए/नभएको विषयमा थप अनुसन्धान सुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कारण निश्चित भएपछि मन्त्रालयले आधिकारीक रुपमा सूचना सार्वजनिक गर्ने देवकोटाको भनाइ छ । ‘यस सम्बन्धमा हामीले थप विस्तृत विवरण लिइराखेका छौँ। कोभिड-१९ सँग सम्बन्धित थप विवरण लिइराखेका छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो परीक्षणको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारीक रुपमा कोभिड-१९ सँग सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निक्यौल गरेर प्रशारण गर्ने सबैलाई जानकारी गराउँछु।’
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।
प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २७८ पुगेको देवकोटाको भनाइ छ । २२४ पुरुष संक्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३२० जनाको आइसोलेसनमा उपचार भइराखेको