बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल
वीरगंज संजाल
३ जेष्ठ २०७७, शनिबार १९:०२
४५७५
काठमाडौ । बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका– ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो ।
दुवै गाउँ सिल भएपछि अब ती वडामा कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको थियो । अस्पतालको ल्याबमा परीक्षण गर्दा मृतक महिलामा कोरोना पोजेटिभ देखिए थियो ।
कोरोनाको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।
माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएका कारण त्यो गाउँ पनि सिल गर्नुपरेको उनले बताए ।
यसैगरी शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ भने महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गर्न शुरु गरिएको छ ।